गैंडा मारेर खाग विक्री गरेको अभियोगमा १० वर्ष सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।
निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना खड्गदल गणको संयुक्त टोलीले २५ वर्षदेखि फरार रहेका चितवनको कालिका नगरपालिका–२ का ५६ वर्षीय मिने साइला भन्ने भीमबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको हो ।
विभिन्न स्थानमा लुकीछिपी बस्दै आइरहेका थापालाई बिहीबार साँझ पक्राउ गरी आजै कारागार कार्यालय भरतपुरमा चलान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्जको २०५७ माघ २५ गते फैसला अनुसार भीमबहादुरलाई १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सजाय सुनाईएको थियो । तर भीमबहादुर कैदभुक्तान नगरी लुकीछुपी बस्दै आइरहेका छन् ।
भीमबहादुरलाई २०५५ कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिव डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा गैंडा मारेर खाग लगेको अभियोगमा दोषी ठहर गरिएको थियो । सो घटनामा १७ जना प्रतिवादीहरु संलग्न रहेको खुलेको थियो ।

