काठमाडौँ। देश बाढी र पहिरोको कारुणिक चपेटामा परेर जनजीवन अस्तव्यस्त बनेका बेला विद्यार्थीहरूलाई शिक्षासँगै मानवीय संवेदना र राष्ट्रियता सिकाउने उद्देश्यले “यसपालिको पढाइ, देशका लागि” भन्ने मूल नाराका साथ एक विशेष अभियान सुरु हुने भएको छ। शिक्षक विशाल अधिकारीको पहलमा आगामी भाद्र २१ गतेदेखि हरेक साँझ ९:०० देखि ९:३० बजेसम्म फेसबुक लाइभमार्फत कक्षा ८ र १० का विद्यार्थीहरूका लागि ३० दिने नि:शुल्क गणित कक्षा सञ्चालन हुन लागेको हो।
यस अभियानको मुख्य विशेषता भनेको बालबालिकाको सिकाइलाई प्रत्यक्ष रूपमा सामाजिक सेवा र राष्ट्रिय दायित्वसँग जोड्नु हो। अभियानअन्तर्गत बालबालिकाले ३० दिनको अवधिमा जति वटा पृष्ठ (पेज) गणितको अभ्यास गर्छन् (कम्तीमा १०० पेज), सोही अनुसारको रकम अभिभावकहरूले आफ्ना छोराछोरीको पवित्र नामबाट ‘प्रधानमन्त्री विपत् कोष’मा जम्मा गरिदिने व्यवस्था मिलाइएको छ।
आयोजक विशाल अधिकारीका अनुसार, “यो ३० दिने कक्षा केवल गणितका सूत्रहरू र हिसाब मिलाउने थलो मात्र होइन। हाम्रा बालबालिकाले आफ्नै मिहिनेत र पसिनाको कदर स्वरूप विपत्तिमा परेका देशवासीलाई सहयोग पुर्याउने उच्च संस्कार सिकून् र राष्ट्रियताको भावना महसुस गरून् भन्ने हाम्रो चाहना हो।”हाललाई कक्षा ८ र १० को गणित विषयबाट सुरुवात गरिएको यो अभियानलाई आगामी दिनमा बिस्तारै अन्य कक्षाहरूमा पनि विस्तार गरिने र थप विषयहरूलाई समेत जोड्दै लैजाने योजना रहेको छ।
कठिन परिस्थितिमा पनि बालबालिकालाई शिक्षासँग जोडिराख्न र उनीहरूमा दुखेको मनलाई मलम लगाउने भावना जगाउन यो अभियानले ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ। अभियानकर्ता अधिकारीले सम्पूर्ण अभिभावकहरूलाई आफ्ना बाबुनानीको साना हात समातेर साथमा बसिदिन र यो साधनालाई विपत्तिमा देशको बलियो सहारा बनाउन हार्दिक अपिल गर्नुभएको छ।

