काठमाडौं, १७ कार्तिक । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । पञ्चकन्या ग्रुपसँगको सहकार्यमा केएमसीले पाटन औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा ७२२ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका मध्ये ९१ जनाको इसिजी, १०३ जनाको भिडियो एक्सरे तथा १२३ जनाको ल्याब परीक्षण गरिएको छ ।
त्यस्तैगरी, सात जनाको दाँत खोलिएको तथा ३५ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ । शिविरमा औद्योगिक क्षेत्रका विभिन्न उद्योगहरुमा कार्यरत कर्मचारीहरुको सहभागीता रहेको थियो ।
शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग विशेषज्ञ चिकित्सकहरुले स्वास्थ्य जाँच गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तरगत निरन्तर निःशुल्क स्वास्थ्य शिविर चलाइरहने केएमसीकी कार्यकारी अध्यक्ष सोयना शर्माले जनाइन् । तत्कालिन केएमसीका कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डाक्टर सुनिलकुमार शर्माले जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्याउने अभिप्रायले निःशुल्क स्वास्थ्य शिविरको थालनी गरेका थिए ।





