संसदीय समितिका सभापति चयन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष तीन दलका नेताहरुको बैठक जारी छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्ष सिंहदरवारमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कानुनमन्त्री धनराज गुरुङ सहभागी रहेका छन् ।
सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसदलाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरुसँग छलफल आयोजना गरिएको हो ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषयगत समितिहरु छन् । ती सबै संसदीय समितिका सभापति अहिलेसम्म चयन हुन सकेका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापति विहिन अवस्थामै छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आइरहेका छन् ।

