काठमाडौँ । सहकारी ठगी प्रकरणको आरोपमा रास्वपा सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेका पुर्वपार्टनर छवि लाल जोशी र रविकै पार्टीका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कास्की प्रहरीले एउटै हिरासतमा राखेको छ । ढाकाकुमारलाई चिकित्सकको प्रस्क्रिप्सनबिनै औषधि पसलबाट मनोद्विपक पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी बन्जाडे तीन दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (जीबी राई) र प्रबन्ध निर्देशक रवि लामिछानेका पार्टनर छविलाललाई प्रहरीले गत आइतबार पक्राउ गरेको थियो ।
रास्वपाका तत्कालीन समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पनि अहिले कास्की प्रहरीकै हिरासतमा छन् । ढाकाकुमारविरुद्ध प्रहरीले लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान गरिरहेको छ । लागुऔषध मुद्दामा प्रहरीले ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
प्रहरीले ढाकाकुमार र छविलाललाई सँगै हिरासतमा राखेको छ । हिरासत कक्षका एक प्रहरी जवानका अनुसार छविलालले ढाकाकुमारलाई भन्दै थिए, ‘हुन त तपाईँ रविकै पार्टीबाट पहिला समानुपातिक सांसद बन्नुभएको थियो, पछि पैसाको लेनदेन गरेको आरोप लगाएर तपाईँलाई हटाए । तर, रवि गतिलो मान्छे रहेनछ ।’
जवाफमा ढकाकुमारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नै गतिलो नभएको बताएका थिए । ढकाकुमारले ‘चेक काट्ने रवि, पक्राउ पर्ने तपाईँ’ भन्दै छविलाललाई प्रश्न गरेका थिए । छविलालले रविलाई पक्राउ गरेर अनुसन्धान नगरी यो मुद्दाको छिनोफानो नै नहुने भन्दै ढाकाकुमारलाई ढुक्क हुन आग्रह गरेका थिए । हिरासतमा ढाकाकुमार र छविवालले धेरै गलफत्ती गरेपछि ठूलो स्वरले नबोल्न प्रहरीले सुझाएका थिए । प्रहरीले ठूलो स्वरमा नबोल्न आग्रह गरेपछि ढाकाकुमारले सोधिहाले– ‘रविलाई कहिले ल्याउनुहुन्छ ? उहाँसँगै हिरासतमा बस्न मन छ ।’ छविलालले आफूविरुद्ध लगाइएको मुद्दा चाँडो टुंगो लगाएर ‘रिलिज’ गराउन प्रहरीसँग आग्रह गर्दै आएका छन् ।

