नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरोध गर्नु एमालेको बचपना मात्रै भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति अनौपचारिक भनाई भएको उल्लेख गर्दै उनले त्यही विषयलाई आधार बनाएर पद सकाइदिन्छु भनेर लाग्नु मृगतृष्णा मात्र भएको उनको भनाई छ ।
अध्यक्ष केपी शर्मा ओली सत्तबाट बाहिरिनुको छटपटीले एमालेले अहिले निरन्तर संसदको अवरोध गरिरहेको उनको भनाई छ ।
उनले भने, ‘ओलीजी सत्ताबाट झर्नुपरेको छटपटीलाई यसमा सकेसम्म शक्तिका साथ प्रयोग गर्न खोजिराख्नु भएको छ । जुन अनुचित छ ।’
उनले प्रधानमन्त्रीले पनि बोल्दा हरेक शब्द सोचेर बोल्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको भाषा एकदमै औपचारिक राजनीतिक हरेक शब्द सोचेर बोल्नुपर्छ भन्ने अपेक्षा राख्छु । आगामी दिनमा प्रधानमन्त्रीले अनौपचारिक वचनमा ध्यान दिनुपर्छ । प्रधानमन्त्री बोल्दाखेरि एकदमै औपचारिक भाषा बोल्नुपर्छ ।’

